श्रावण १६, २०७३- राजनीतिक घटनाक्रममा आकस्मिक फेरबदल नभए आउँदो बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकका नयाँ प्रधानमन्त्री चुनिने छन् । राष्ट्रिय सहमतिको सरकार बनाउन निर्धारित सातदिने म्याद आइतबार सकिएपछि दाहाल बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सम्भावना टरेपछि सोमबार बहुमतीय प्रक्रियाले प्रधानमन्त्री चयनको आहवान गर्ने भएकी छन् ।
त्यसको पूर्वतयारीका लागि राष्ट्रपतिले प्रमुख ५ दलका शीर्ष नेतालाई आइतबार आफ्नो कार्यालय शीतलनिवासमा संयुक्त भेट गरेकी थिइन् । त्यसक्रममा आफूले सहमतीय सरकारको अपेक्षा गरेरै संविधानको प्रावधानअनुसारको अवधि तोकेर प्रधानमन्त्री निर्वाचनको आहवान गरेको उनले बताइन् । नेताहरूले भने आफूहरूले सहमतीय प्रक्रियाका लागि गृहकार्य गरे पनि त्यस्तो सम्भावना टरेको राष्ट्रपतिलाई अवगत गराएका थिए ।
‘अब सहमतिको सम्भावना छैन । बहुमतीयकै सरकार बन्छ,’ भेटपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संवाददाताहरूसँग भने, ‘हामीले पनि अब बहुमतीय प्रक्रिया थाल्न सुझाव दियौं ।’ भेटमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, देउवा, दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।
यसअघि राष्ट्रपतिले सहमतिका लागि तोकेको म्याद पहिलोपल्ट गुजारेपछि थप्न दलहरूले आग्रह गरेको नजिर थियो । तर, यसपटक भने त्यस्तो आग्रह गरेनन् । ‘म्याद थप्न माग नभएपछि स्वाभाविक रूपमा अर्को आहवान गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रपतिबाट अर्को पत्र जारी हुनेछ,’ राष्ट्रपति भण्डारीका स्वकीय जनसम्पर्क सचिव जीवछ साहले कान्तिपुरसँग भने ।
उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पनि बहुमतीयको विकल्प नरहेको प्रतिक्रिया दिए । ‘राष्ट्रिय एकता आवश्यकता देखिए पनि दलहरूबीच सरकार निर्माणमा त्यो सम्भव देखिएन,’ उनले भने ।
व्यवस्थापिका–संसद्मा सबभन्दा ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रको मुख्य समीकरणमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने तयारी भएको हो । सोहीअनुरूप वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएलगत्तै गत सोमबार राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ (२) अनुसार सात दिनभित्र राजनीतिक सहमति जुटाई प्रधानमन्त्री निर्वाचन सम्पन्न गर्न आहवान गरेकी थिइन् ।
ओली सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, राप्रपाले समर्थन फिर्ता लिएको र चुनावमा मधेसी मोर्चाअन्तर्गतका दलहरूसमेत सहभागी हुने भएपछि दाहाल प्रधानमन्त्री हुने पक्कापक्की बनेको हो । संविधानको धारा २९८ (३) मा बहुमतका आधारमा प्रधानमन्त्री चुनिने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार राष्ट्रपतिबाट आहवान भएपछि व्यवस्थापिका–संसद् सचिवालयले प्रधानमन्त्री चुनावको तयारी थाल्नेछ ।
राष्ट्रपतिबाट आहवान भएको पत्र पाएलगत्तै सचिवालयले नियमअनुसार निर्वाचन तालिका सार्वजनिक गर्नेछ । ‘हामी आन्तरिक तयारीमा छौं,’ सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताए । महासचिव नै निर्वाचन अधिकृत भई निर्वाचनको समय र मितिसमेत घोषणा हुनेछ । सोमबार शीतलनिवासबाट पत्र आए बुधबारसम्म निर्वाचन सम्पन्न भइसक्नेछ । मंगलबार भने उम्मेदवारको नाम दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली तय हुनेछ ।
0 comments :
Post a Comment