चिन्तक जान रक्सिन भन्थे, ‘बेइमानहरु विज्ञापन र इमान्दारहरु योग्यतामा बाँच्न चाहन्छन् ।’ उनले समकालीन विश्व जनमतको भावना बोेले वा आफ्नै अनुभूति र आकाङ्क्षा ? त्यसको फैसला उनकै ब्रहृमाले गरोस् । तर, रक्सिनको भनाई कर्म र साधनाभन्दा माथि प्रचार र मानपदवीलाई राख्ने व्यक्तिवादी प्रवृत्तिमाथि चोटिलो प्रहार थियो । अनि, सम्मानका नाममा अभिमान र आडम्बरलाई नगदमा खरिद-बिक्री गर्ने संस्कृतिमाथि आगो झोस्ने प्रयत्न पनि ।
जनयुद्ध र जनआन्दोलनपछि राजनीतिक र सामाजिक क्षेत्रमा नयाँ जागरण आयो । पक्कै पनि सामाजिक रुपान्तरणको यात्रामा यो कोशेढुङ्गा नै हो। त्यसयता सबैले विभिन्न सजातीय, बिजातीय सङ्घ-संस्था खोल्ने होडबाजी नै चलेको छ । कलाकारदेखि पत्रकारसम्म, हाकिमदेखि पियनसम्म, कुखुरा काट्नेदेखि खसी र कपाल काट्नेसम्म, जात मिल्नेदखि भात मिल्नेसम्मका आफ्नै सङ्घ छन्, सङ्गठन छन् । उनीहरुका आफ्नै एजेण्डाको चाङ् छ, मागको थुप्रो छ । ती कति जायज, कति नाजायज ‘भगवान् भरोसा’मै छन् । आजभोलि शनिबारले बिश्राम पाउँदैन । भेला, सम्मेलन, बैठक, बनभोज, साधारण सभा, प्रभातफेरी, भ्रमण, सहयोग, सम्मान र विभूषणका लागि शनिबार नै शुभ हुने गर्छ । ‘धुरी चढेरै’ भए पनि सबैले विभूषण कोष खडा गरेका छन् । अनि, पालैपालो तक्मा र पुरस्कारका लागि समयतालिकै बनाउने गरेका छन् ।
एकाबिहानै मोबाइलमा घण्टी बज्यो, फोन उठाएँ । उनी एक प्रतिष्ठित युवा क्लवको अध्यक्ष रहेछन् । शाब्दिक अलङ्कारको वर्षापछि भने, ‘दाजु, हाम्रो युवा क्लवको कार्यक्रम छ, सभासदलाई लिएर पाल्नुहोला ।’ धनुष्टङ्कार अनुरोधले मनै फुरुङ्ग भयो । एकै श्वासमा जवाफ फर्काए, ‘उहाँ मान्नुभयो भने पक्कै लिएर आउछु ।’ त्यसको केही दिनमा सभासद लिएर क्लबको कार्यक्रमतिर हानिएँ ।
कार्यक्रम प्रारम्भ भयो । उदघोषकले कार्यक्रमको औचित्यबारे लामै प्रवचन दिए । त्यसपछि अतिथि बोलाए । प्रमुख अतिथिका रुपमा निम्त्याइएका पाहुना टिलपिल गर्दै थिए । आयोजकले पाखुरामा तान्दै मञ्चसम्म लैजाने कष्ट गरे । रक्सीको मातले उनी धर्ती चिन्नसक्ने हैसियतमा थिएनन् । तर, चालीस हजारको उनको समाजसेवाले धर्ती टेकेकै थियो । चालीस हजारको बिटोमाथि उनी प्रमुख अतिथिको कुर्सीमा बिराजमान थिए । त्यसपछि सभासदको पालो आयो, उनलाई अतिथि दीर्घामा आसन ग्रहण गराइयो । त्यसलगत्तै प्रमुख अतिथिले कार्यक्रम उदघाटन गरे । उदघाटन मन्तव्यको पालो आयो । अपशब्दको शब्दकोषका भण्डार उनले के बोले ? मेरो ब्रहृमाले फैसला गर्नै सकेन । जेनतेन कार्यक्रमको कर्मकाण्ड पुरा गरेर हामी फर्कियौं ।
जति तर्कन खोजे पनि समाजसेवीको निम्तोले पछ्याउन छोडेन । एक दिन हितैषी मित्रको फोन आयो । धनुष्टङ्कार वाणीमा निम्ता गरे, ‘भोलि एक जना बरिष्ठ स्रष्टा र समाजसेवीलाई सम्मान गर्ने कार्यक्रम छ, जसरी पनि पाल्नुहोला ।’ उनकै शैलीमा जवाफ फर्काएँ, ‘समयले साथ दिए अवश्य उपस्थित हुन्छु ।’ रात गयो, उषाको लाली चढ्यो । घडीको सुई घुम्दै थियो, खानापछि धनुष्टङ्कार निम्तोको स्मरण भयो । हतार-हतार कार्यक्रमस्थल हानिएँ । सञ्चालकले राजसी भाषामा उदघोषण सुरु गरे । उपस्थित अतिथि गणलाई उनको दृष्टिले भ्याएसम्म उपमाको वृष्टि गरे । बरिष्ठ स्रष्टा र समाजसेवीको नाम पुकारियो । हलमा तालीको वर्षा भयो, हुटिङ् चल्यो, मानौं कि आज अर्कै धर्तीबाट एक ‘युग पुरुष’को आगमन हुँदैछ ।
धनसँग व्यक्तित्वको तुलना र सम्मान आत्म स्वाभिमानको हत्या हो । यसले समाजमा फक्रेका हजारौं सिर्जनाका फूलहरु निमोठ्छ, जागरणको पालुवामा डढेलो लगाउँछन्, अनि जोश र जाँगरमाथि चिसो पानी खन्याउँछ ।
अतिथि गजक्क पर्दै मञ्चतिर हानिए । उदघोषकले नेपाली शब्दसागर पल्टाए । शब्दकोषबाट झिक्न मिल्ने जति शब्दको उपमाद्वारा उनको परिचय गराइयो, मानौं उनी हुन्थेनन् भने पृथ्वीको चक्रै रोकिन्थ्यो, सूर्यको प्रकाश पनि चकमन्न अन्धकारमा फेरिन्थ्यो । पौने घण्टाको शाब्दिक विभूषणपछि गर्धनका माला र खादा टेबुलमाथि राख्दै अतिथि रोष्टममा उँभिए । दर्शकदीर्घा उनको मुखारबिन्दुबाट प्रस्फुटित वाणीको प्रतीक्षामा थियो । लगत्तै उनको प्रवचन सुरु भयो । भने, ‘यहाँहरुको संस्थाबाट सम्मानित हुन पाउँदा निकै खुसी छु । आज आफूलाई संसारकै भाग्यमानी ठानेको छु ।’ खुसीको उन्मादमा उनको प्रवचनले सीमा नाघ्यो । थपे, ‘सबैभन्दा धेरै चन्दा दिन पाउनु मेरा लागि सुवर्ण अवसर पनि हो ।’
खुसीको उन्मादले गोप्यताको घेरा तोड्यो, ‘साथीहरुले पुरस्कारस्वरुप दिएको राशी संस्थामै फिर्ता गर्नुपर्ने शर्त राख्नुभएको छ, म यसमा २५ हजार थपेर जलपानको पनि व्यवस्था गर्नेछु ।’ प्रवचन सकियो, उनको तारिफ भयो । उदघोषकले तालीले सम्मान गर्न उर्दी जारी गरे । आयोजकले थपे, ‘यहाँजस्तो व्यक्तित्व पाउनु हाम्रा लागि ठूलो भाग्य हो ।’
वरिष्ठ स्रष्टाबारेको मेरो दिमागी तस्वीर खल्बलियो । स्रष्टा र समाजसेवी खोज्दै गएको मेरो मन बेचैन भयो । मनमनै सोचें, ‘समाजको गतिलाई बुझ्नै सकेनछु । यहाँ डलरको मात्रै होइन, नेरुको भाउ पनि हृवात्तै बढेको रहेछ ।’
स्कूले जीवनमा हामी देवकोटाको जीवनी पढ्थ्यौं । भानुभक्तको इतिहास सुन्थ्यौं । गुरु भन्नुहुन्थ्यो, ‘देवकोटाले गरीबीका कारण आफ्नै सिर्जना बेचेका थिए । बाबुको ऋण तिर्न नसकेर भानुभक्त जेल बसेका थिए ।’ त्यो बेला देवकोटाले सिर्जना बेच्नु पेटको बाध्यता थियो । तर, आज सिर्जना डलरको भाउमै खरिद बिक्री हुँदो रहेछ । चन्दाको पारो जति चढ्दै गयो, सिर्जनाको घनत्व त्यति नै बढ्ता हुने समाजसेवा आँखै अगाडि उपस्थित थियो । देवकोटा र आजका वरिष्ठ स्रष्टालाई एउटै तराजुमा तौलने दुस्साहस गरें । तर, मेरो दुस्साहस पूँजीवादी दुनियाँमा निकै फिक्का थियो । शेक्सपियर सम्झें । उनी भन्थे, ‘प्रत्येक मान्छेलाई आफ्नो जीवन पि्रय हुन्छ । तर, महान् व्यक्तिहरुका लागि आफ्नो इज्जत जीबनभन्दा बढी मूल्यवान् र प्रिय हुन्छ ।’ ठानें, आजका मान्छेहरु शेक्सपियरको वाणीलाई आफ्नो स्वार्थको सिरानी हाल्न कति माहिर हुन् ?
आजभोलि बजारमा हुने कतिपय सम्मान र विभूषणका दृष्टान्त यसैका वरिपरी घुम्छन् भन्नु अत्युक्ति नहोला । समाजसेवा र सिर्जनाका लागि खोलिएका संस्थामा नेता मोटाउँछन्, संस्था दुब्लाउँछ । सामाजिक संस्थालाई नै पेशा बनाएर नाफा कमाउँछन् । साइकल चढ्नेहरु २/४ वर्षमा संस्था चलाएरै बिलासी गाडी चढ्छन्, हेर्दै टोपी खस्ने महल बन्छन् । सिर्जना र व्यक्तित्वलाई नगदमा खरिद गर्छन् । यस्ता दृष्टान्तले समाजसेवाको घाँटी निमोठिन्छ । सत्कर्मको बलात्कार हुन्छ, सिर्जनाको हत्या हुन्छ र भइरहेछ ।
कतिपय संस्था यस्ता छन्, जहाँ दिउसो त्यस्तो व्यक्तिको सम्मान गरिन्छ, जसले संस्थाका लागि सबैभन्दा ठूलो धनराशी खर्च गर्न सक्छ, अनि बेलुका तारे होटेलमा जाँड पार्टी दिने हैसियत राख्छ । दिउँसो फूलमाला, सादा, सम्मान-पत्रको साथमा दिएको नगद आयोजकलाई नै फिर्ता दिनुपर्छ । जो व्यक्ति सम्मानित हुन्छ, उसले एउटा प्रमाणपत्र बुझ्छ, फेसबुकमा फोटो अपलोड गर्छ र अभिमानको लड्डु घ्यूसँग खाएर निदाउँछ । यो परम्पराले हाम्रो प्रतिष्ठा र समाजसेवाको गरिमा कहाँ पुग्ला ? सोच्नैपर्ने बेला आएको छ ।
सहकार्य, हार्दिकता र संस्था शक्तिशाली बनाउने बहानामा बिकृतिप्रति आशक्ति नराखौं । सम्मानको गरिमालाई जलपानमा गिराउने हाम्रो सोंचमाथि पुनर्विचार गरौं
सम्मानको पनि आफ्नै कर्मकाण्ड छ, शास्त्र छ । सम्मानित गर्ने व्यक्ति छनोटका लागि सिफारिस समिति बनाइन्छ । त्यसले सिफारिसको मापदण्ड तोक्छ । कैयौंका मापदण्ड यस्ता हुन्छन्, संस्थालाई सबैभन्दा धेरै आर्थिक सहयोग गरेको हुनुपर्ने, पुरस्कारस्वरुप दिएको धनराशीमा रकम थपेरै फिर्ता गर्नुपर्ने, विशेष परिस्थितिमा थप सहयोग दिन सक्ने, नाफा आर्जन गर्ने संस्थाको ब्यापारमा राजनीतिक र प्रशासनिक संरक्षणको हैसियत राख्नु । ती संस्थाका अन्य मापदण्ड जगत भ्रमित पार्नका लागि प्रस्तुत गरिन्छ, जुन देखाउने दाँत मात्रै हुन् ।
सम्मान गर्नु नराम्रो कुरा पक्कै होइन, यसले व्यक्तिको व्यक्तित्व विकासमा उर्जा मिल्छ, समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ, नागरिकले सत्मार्गका लागि प्रतिस्पर्धा गर्छ । तर, त्यस्तो सम्मानले व्यक्तित्वको गरिमा धान्न सक्नुपर्छ । केही खास विशेषता र गुणबिना गरिने सम्मान आत्म सन्तुष्टिका लागि त काम लाग्ला । तर, त्यसले समाजको दिशाबोध गर्ने सामर्थ्य राख्दैन । बरु, उल्टै सामाजिक कार्य र प्रतिभा हत्यालाई प्रेरित गर्दछ । आसय सम्मानको संस्कारमाथि प्रश्न उठाउनु होइन । बरु, धनको नभएर वास्तविक समाजसेवा र व्यक्तित्व विकासका लागि सम्मान र विभूषणको गरिमा बढाउनु नै हो ।
सामाजिक संस्थाहरु त्यसै चल्दैनन् । आर्थिक, भौतिक, नैतिक र मानवीय सहयोग र स्रोतबिना यसको गतिशीलताको कल्पना गर्न सकिन्न । संस्था धान्न चन्दा चाहिन्छ, धन हुनेहरुसँग त्यसको अपेक्षा गर्नु अस्वाभाविक होइन । तर, धनसँग व्यक्तित्वको तुलना र सम्मान आत्म स्वाभिमानको हत्या हो । यसले समाजमा फक्रेका हजारौं सिर्जनाका फूलहरु निमोठ्छ, जागरणको पालुवामा डढेलो लगाउँछन्, अनि जोश र जाँगरमाथि चिसो पानी खन्याउँछ ।
सम्मानित हुनेले आर्थिक सहयोग गर्नै हुँदैन भन्नु पनि बस्तुगत धरातलबाट च्यूत हुनु हो । तर, एक हातले दिएको सम्मान अर्को हातले फिर्ता लिनु किमार्थ राम्रो होइन । यो स्रष्टा र सामाजिक कार्यको अपमान हो । सम्मानित व्यक्तित्वले फिर्ता दिन चाहे पनि त्यस्तो पुरस्कार आयोजकले लिनै हुन्न । बरु, अरु सन्दर्भमा उसबाट सहयोग लिन सक्दछ । तर, हामीकहाँ पुरस्कार राशी फिर्ता दिनुपर्ने शर्त राखेर सम्मान गर्ने र साँझ त्यही राशीले तारे होटलमा जलपान गर्ने संस्कृति मौलाउँदो छ । यो सामाजिक कार्यका नाममा गरिने सामाजिक कलङ्क नै हो । तसर्थ, सहकार्य, हार्दिकता र संस्था शक्तिशाली बनाउने बहानामा बिकृतिप्रति आशक्ति नराखौं । सम्मानको गरिमालाई जलपानमा गिराउने हाम्रो सोंचमाथि पुनर्विचार गरौं ।
२०७३ जेठ ३२ गते १०:२६ मा प्रकाशित
0 comments :
Post a Comment